Follow palashbiswaskl on Twitter

PalahBiswas On Unique Identity No1.mpg

Unique Identity Number2

Please send the LINK to your Addresslist and send me every update, event, development,documents and FEEDBACK . just mail to palashbiswaskl@gmail.com

Website templates

Zia clarifies his timing of declaration of independence

What Mujib Said

Jyoti Basu is dead

Dr.BR Ambedkar

Memories of Another day

Memories of Another day
While my Parents Pulin babu and Basanti Devi were living

Monday, July 1, 2013

भारत र चीनको विदेश नीति सन्तुलित छैन ।

भारत र चीनको विदेश नीति सन्तुलित छैन ।भारत र चीनको विदेश नीति सन्तुलित छैन ।

Published on: Thursday, June 27, 2013 // 


-राम कार्की-
विदेश विभाग प्रमुख
एकीकृत नेकपा माओवादी 




मंसिर ४ गते संविधानसभाको निर्वाचन हुने सम्भावना छ कि छैन ?
-यसलाई दुई तरिकाबाट हेरौँ । एकातिरबाट चुनाव मात्र एउटा विकल्प हो भन्ने कुरा आएको छ । तर देशका अगाडि एउटा मात्र विकल्प भन्ने हुँदैन । अर्कोतिर माझीहरूको नियन्त्रणमा रहेको एउटा डुंगा ठूलो तालमा लगेर छाडिएको छ । माझीहरू किनारमा छन् । त्यो डुंगा किनारमा आउँछ र सबैलाई चढाएर गन्तव्यमा पु¥याउँछ भन्ने आशा गरिएको छ । निर्वाचनजस्तो कुरा पार्टीहरूको नियन्त्रणबाहिर जानै दिनुहुँदैनथ्यो । पार्टीकै नेतृत्वमा चुनावी सरकार गठन नगर्नु कमजोरी भयो । उहाँहरू (शीर्ष नेता) ले अन्तिम बाध्यता आदि इत्यादि भन्नुभयो । प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउन एकठाउँमा आइपुगेका नेताहरू बाबुराम भट्टराईकै सरकारलाई निरन्तरता दिने वा सुशील कोइरालाको नेतृत्वमा नयाँ सरकार बनाउने कुरामा किन एक ठाउँमा आउन सकेनन् ? इतिहासले जबाफ खोज्नेछ । 
परिस्थिति तपाईंले भनेभन्दा निकै अघि बढेको छ र चुनावको मिति नै घोषणा भइसकेको छ । यो मितिमा चुनाव हुन्छ कि हुँदैन भनिदिनुस् न ?
चुनाव सुनिश्चित भइदिएको भए मलाई किन यो प्रश्न गर्नुपथ्र्यो ? राजनीतिक पार्टीका नेताहरू राजनीतिक ढंगले सोच्नेभन्दा पनि तत्काल कसले कसलाई उछिन्ने भन्ने अस्वस्थ प्रतिस्पर्धामा लाग्नुभयो । अहिले छाडिदिँदा दुई वर्षपछि आफ्नो पार्टीको पोजिसन असाध्यै राम्रो हुन्छ भन्ने धैर्य कसैले राखेका छैनन् । जसका कारण यो स्थिति पैदा भएको हो । अहिले पार्टीहरू आँकलन गर्दैछन् –हाम्रो कति सिट आउँछ ? जसले जित्ने विश्वास राखेको छ, त्यसले चुनाव गराइहालौँ भन्ने । जो धरमरमा छ त्यसले चुनाव टाढा गइदिए हुन्थ्यो भन्ने । अर्को कुरा, यो सरकारका सीमाहरू छन् । जनपरिचालन गर्ने औजार सरकारसँग छैन । ब्युरोक्रेसीले बनेको औजार मात्र छ । केही महŒवपूर्ण दलहरूले यो प्रक्रिया (निर्वाचन) मा नै भाग लिँदैनौँ भनेर शर्त राखेका छन् ।  उनीहरूका माग सम्बोधन नभएसम्म ठूला दलले हाम्रा कुरा मानेनन् भैगो भनेर उनीहरू खुरुखुरु आउँदैनन् । साना पार्टी त आउँदैनन्, नेकपा–माओवादी जस्तो ठूलै काया भएको पार्टी कसरी आउँछ ? त्यसकारण बिमति राख्ने दलहरूलाई ल्याउन सकिन्छ कि सकिँदैन भन्ने कुराले मंसिरमा चुनाव हुने नहुने निर्भर गर्छ । होइन भने मंसिरमा अर्को सरकार बन्छ । नेकपा–माओवादी, उपेन्द्र यादवले नेतृत्व गरेको, अशोक राईजीले नेतृत्व गरेको पार्टीलाई सहमत गराउन सकिएन भने त कसरी निर्वाचन हुनसक्छ ? हकदार राजनीतिक दलहरू एक ठाउँ बसेर संयुक्त सरकार बनाउनुपर्छ । एक दुई महिना अगाडिपछाडि चुनाव गराउँदा केही फरक पर्दैन । तर चुनावले अशान्तिको बाटो प्रशस्त गरिदियो भने यो देशका लागि दुर्भाग्य हुन्छ । 
बुँदागत रूपमा भनिदिनुस् कि मंसिर ४ गते नयाँ निर्वाचन हुने, संविधान बन्ने र नेपाल स्थायित्वको बाटोमा जानका लागि के के हुनुपर्छ ? 
पहिलो, राजनीतिक प्रक्रियासँग टाढा रहेका दलहरूसँग वार्ता गरेर उनीहरूका जायज र नाजायक मागहरू छु्ट्याएर स्पष्ट कुरा गर्नुपर्छ । उनीहरूलाई निर्वाचनमा आउने बाटो खुला गर्नुपर्छ । दोस्रो, राजनीतिक दलहरूले आफ्नो आदर्शसँग सम्झौता गर्नुहुँदैन । दस वर्ष संविधान नबने नबनोस् तर मेरै पार्टीले जित्नुपर्छ, मै हुुनुपर्छ भन्ने नाजायज आकांक्षा पाल्नेहरूलाई दुरुत्साहित गर्नुपर्छ । हिजो राजाले डण्डा लाउने अवस्था थियो र सबै एकठाउँमा आएका थिए । १२ बुँदे भयो, सात पार्टीको एलाइन्स भयो । सबै थोक भयो । आज राजा छैनन् जनतासँग डराउनुपर्छ । चौथो, दलहरू राष्ट्रका हितको पक्षमा एकै ठाउँमा आउनप¥यो । जुनसुकै दलका मान्छेले विदेशीसँग कुरा गर्दा एउटै कुरा गरून्, एउटै प्राथमिकता राखून् । 
मंसिरसम्म चुनाव नहोस् त्यसपछि एमाओवादी ठूलो पार्टीको हैसियतमा आफ्नै नेतृत्वमा सरकार बनाउन चाहन्छ भन्ने सुनिन्छ नि । कुरा यही हो ? 
यस्तो होइन । हाम्रो मुख्य सरोकार भनेको प्रमखु राजनीतिक पार्टीहरूले किरणजी, उपेन्द्रजी, अशोकजीहरूको पार्टीहरूसँग सहमति हुनुपर्छ भन्ने नै हो । 
शीर्ष नेताले के आधारमा असन्तुष्ट दलहरू नआए पनि चुनाव गराइन्छ भनिरहेका हुन् ? 
उहाँहरूलाई लागेको होला असन्तुष्ट दलहरू स्वतः चुनावी प्रक्रियामा आउँछन् । किरण (मोहन वैद्य) जीलगायत असन्तुष्ट फोर्सहरूलाई पर धकेलेर चुनाव त होला । तर केका निम्ति चुनाव भन्ने औचित्यमाथि प्रश्न उठ्छ । 
अहिले सत्ता पक्षधर र विरोधी मोर्चाको नेतृत्वमा दुई माओवादी छन् । त्यसकारण गतिरोधको बाधक माओवादी हो भन्दा के हुन्छ ? 
तपाईंले अन्तर्यमा गएर हेर्नुभयो भने किरण (मोहन वैद्य) जी र हामीबीच राजनीतिक आचरणमा केही भिन्नता छैन । समग्र राजनीतिक संस्कृतिमा भिन्नता छैन । यो अवस्थामा अलग गुट वा समूह भनेर औचित्यसावित गर्न नै गाह्रो छ । अलग नारा लगाइएको छ तर मुख्य आचरण एउटै छ । हाम्रो पार्टी ठूलो भएकोले उसले गर्ने कमजोरीले राष्ट्रलाई असर गरिरहेको हुन्छ । चुरे भावरको कमजोरीले पार्ने असर र हाम्रो पार्टीले गरेको कमजोरीले पार्ने असर एउटै हुँदैन । 
तर ठूला दलले चुरे भावरजस्ता पार्टीको चासो सम्बोधन गर्ने, नेकपा माओवादीजस्तो पार्टीलाई उपेक्षा गरेर अघि जाने कोसिस गरिरहेका छन् नि ? यसले कहाँ पु¥याउँछ ? 
चार दलको सट्टा पाँच दल, छ दल भए हुन्थ्यो भन्ने एउटा कुरा त होला । तर मूलरूपमा त्यहाँ भएको भए उहाँहरूले के गर्नुहुन्थ्योे ? किरणजीहरूमा पनि स्थिरता देखिएन । सैद्धान्तिक राजनीतिप्रतिको निष्ठा र अविचलितपना देखिएन । प्रजातन्त्र, राष्ट्रियता र अहिलेको राजनीतिक मुद्दाको प्रश्नमा उहाँहरूको स्थिरता देखिएन । जनयुद्धको बेसमा कुन्नि के विद्रोह गर्ने भन्नुहुन्छ, त्यतातिर काहीँ गएको देखिएन । उहाँहरू पनि संविधानसभाकै घेरामा हुनुहुन्छ । यसको विरोध गर्नु पनि त यहीँ बस्नु हो नि । चुनावको विरोधी होइन है भनेर देखाउन पनि उहाँहरूले भरसक चेस्टा गरिरहनुभएको छ । उहाँहरूबाट केवल जटिलता मात्रै उत्पन्न भएको छ । पार्टी मिलिदिएको भए यो अवस्था उत्पन्न नहुन सक्थ्यो । तर पार्टी सुरुदेखि नै विभाजित भयो । एउटा पक्ष विद्रोह गरेर तुरुन्तै सत्ता कब्जा गर्ने भन्यो । संविधानसभाको निर्वाचन गरेर आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ भन्ने अर्को लाइन थियो । दुईवटा लाइनको तानातानमा न संविधान बन्यो, न पछिल्लो राजनीतिक उपलब्धि संस्थागत भयो । वैद्यजीहरूले फुटको औचित्य पुष्टि गर्न सक्नुभएन । 
वैद्यहरूले त आफूलाई राष्ट्रवादी/परिवर्तनकारी, एमाओवादीलाई आत्मसमर्पणवादी भन्नुभएको छ त  ?
सबैले आफूलाई केन्द्रमा राखेर भन्छन् र दस्तावेज लेख्छन् । तर अरूले कत्तिको पत्याइदिन्छ र प्रमाणित हुन्छ कि हुँदैन भन्ने कुरा मुख्य हो । ५÷६ वर्षयताका घटनाक्रमहरूमा उहाँहरू पनि सहभागी हुनुहुन्थ्यो । मन्त्री पनि बन्नुभएकै हो । निर्णय प्रक्रियामा पनि सहभागी हुनुभएकै हो । त्यतिबेला केही बिमति राख्नुभएन । जनतालाई उहाँहरू हामीभन्दा बेग्लै हो भनेर पत्याउन मुस्किल भइरहेको छ । 

तपाईंहरू स्पष्ट छौँ भन्नुहुन्छ तर जनता त तपाईंहरूले ल्याएको परिवर्तनप्रति निराश हुँदै गएका छन् । अहिले निर्णायक शक्ति दलहरू हुन् कि अरू नै कोही हो ?
संक्रमणकाल लम्बिँदै जाँदा पहिला विस्थापित भएका शक्तिहरूले प्रशस्त ठाउँ पाउँछन् । त्यसकारण यो बेला क्रान्तिकारी राजनीति दुईवटा कुरामा सचेत हुनुपर्ने हो । पहिलो, प्रतिस्थापित शक्तिले टाउको उठाउन नपाओस् भन्नेमा । दोस्रो, भत्काइएको चीजको सट्टामा नयाँ कसरी गर्ने भन्नेमा । हामीले जसका लागि आन्दोलन गरेका हौँ, उनीहरूका माग राजनीतिको केन्द्रमा हुनुपर्ने हो । तर अहिले देश विकासको फर्मुलाका लागि प्रकाशचन्द्र लोहनीकै लेख पढ्नुपर्ने, कमल थापाले भाषण गर्ने, ज्ञानेन्द्रले देशको चिन्ता लिने अवस्था आउनु भनेको के हो ? हामीले क्रान्तिकारी राजनीतिलाई छाड्दै गएकोले यो स्थिति उत्पन्न भएको हो । पार्टीहरूले अहिले आफ्नो सामाजिक वर्गका आवश्यकतालाई माग बनाउन नसकेको स्थिति छ । जनताले पुरानै व्यवस्थामा फर्कने कुरा त अहिले गरेका छैनन्, तर परिवर्तनप्रति विश्वास पनि गर्न सकेका छैनन् । 
शीर्ष नेताले यो कुरा किन महसुस गर्न सकिरहेका छैनन् ? 
दलहरूमा पारदर्शीता भएन । महŒवपूर्ण राजनीतिक निर्णयहरू कसैले अनुगमन गर्दैन । निर्णयमा प्रजातान्त्रिक प्रक्रिया अवलम्बन गरियो कि गरिएन भनेर हेर्ने पनि कोही छैन । तर नेताहरूले आफूलाई प्रजातन्त्रको मसिहा दाबा गरिरहेका छन् । नेपाली कांग्रेस किन राजनीतिकरूपमा पुड्को बन्न पुग्यो ? एमाले किन यति पुड्को भयो ? हाम्रो पनि उचाइ बढिरहेको छैन । कांग्रेस र एमाले पुड्का भएकोले मात्रै हामी अग्ला भएका हौँ । नेताहरूले आफ्नो योग्यता प्रमाणित गर्न सकेका छैनन् । संक्रमणकाल भएका अन्य मुलुकहरूमा हेर्नुस् नेताहरूले तपस्वीजस्तो उदाहरण छाडेका छन् । हामी गान्धीको राजनीतिलाई मान्दैनौँ । बेलायतमा टाइ लगाएको मान्छे भारतमा आएर धोती लगाए, मार्च गरे र भारतलाई जोडे । माओत्सेतुङले आफ्नो खाकीको ज्याकेट कहिल्यै छाडेनन् । उनीहरूलाई पनि त चिल्लो राम्रो लाउन राम्रै हुन्थ्यो होला । 
हाम्रा नेताहरूको आचरण साँचो देशभक्त नेताको जस्तो किन हुन नसकेको हो ?
वास्तवमा नेतालाई जनताको आलोचनात्मक समर्थन पनि नभएको हो । शरीरमा धेरै अंगहरू छन् तर बोल्ने त वाणीसँग सम्बन्धित केही अंगले मात्रै हो । बोल्नमा कुइनाको काम छैन । समाजमा बोल्ने भनेका नेता, प्रोफेसर, वकिल इत्यादि हुन् । राजनीतिको मात्र होइन, तपाईं रंगकर्मीको नेता भएर हेर्नुस्, वकिल, प्रोफेसर, पत्रकारको नेता हेर्नुस् सबैमा ह्रास आइरहेको छ । अरू राम्रा भएको भए त राजनीतिक नेतालाई सबैले दबाबमा पारिहाल्थे नि । एकजना डाक्टर भोकै सुत्दाखेरि सरकारको निर्णय फिर्ता भयो शिक्षण अस्पतालमा । नैतिक बल भएको मान्छे अगाडि आएर साँचो कुरा राखिदिँदा त प्रभाव पर्दोरहेछ नि । यहाँ धेरै प्राज्ञिक, बौद्धिकहरू सार्वजनिक ठाउँमा नेतालाई झट्टी हान्ने, एकान्तमा परेपछि आफ्नै निजी गुनासो गर्ने गर्छन् । अनि कहाँ समाज सुध्रिन्छ ? नेताहरूले विदेशीहरूसँग कुरा गर्दा नेपाली जनता मेरा पछाडि छन्, उनीहरूलाई प्रतिनिधित्व गरेको छु भन्ने सोच्दैनन् । नेताहरूले विदेशीसँग म दुईवटा नानीको बाबु हुँ, तीनजना भान्जाभान्जी छन्, तिनलाई पनि पढाउनु लेखाउनु छ भनेर बोलिदिएपछि के हुन्छ ? जब एउटा नेताले देशलाई होइन, परिवारको प्रतिनिधित्व गर्छ त्यसले देशको अन्तर्राष्ट्रिय सम्बन्धको डिलिङ गर्नैसक्दैन । 
हामीले २०४६ को परिवर्तनपछि पनि यही कुरा ग¥यौं, व्यवस्था नै परिवर्तन गरेर गणतन्त्र ल्याएपछि पनि आर्थिक सामाजिक परिवर्तन भएन, नेताहरूले काम गरेनन् भनिरहेका छौँ । किन हामी यो अवस्थामा छौँ ?
सन्तुष्टि, मोक्ष भन्ने कुरा सांसारिक जगतमा हुँदैन । जोगीहरूले आध्यात्मिक जगतमा यो कुरा हुन्छ भन्छन्, हामी पत्याउँदैनौँ । परिवर्तन भएको छैन भन्ने कुरा छैन । दस पन्ध्र वर्षअघि मिडियामा कसको अधिकार थियो ? आज दार्चुलाको किसानको छोरो समाचारवाचक छ । सर्लाहीको किसानको छोरी समाचार लेख्छिन् । अक्षरजस्तो सम्पदामा अधिकार जमाउन आयो नि यो वर्ग । यो ठूलो परिवर्तन हो । जो आयो, त्यसले मिडियालाई आफ्नो वर्गको हितमा संस्थागत गर्न सिपालु भइसकेको छैन । परिवर्तन निरन्तरको प्रक्रिया हो । यसका लागि सतर्कता, आलोचना, आवाज सुझाब चाहिन्छ । 
तपाईंले पटकपटक जनता आउनुपर्छ भन्नुभो । दलहरूकै अगुवाइमा जनताले राजतन्त्र फालेका हुन् । राजनीतिक दलबाहेक जनताको बेग्लै राजनीतिक संगठन के हुन्छ ? जनताले कसरी नेतालाई खबरदारी गर्ने ? 
पृथ्वीको सतहमुनिबाट ज्वालामुखी तातेर बाहिर निस्किने बेलामा त्यसले असाध्यै नरम भाग खोज्छ । यदि त्यो भेटेन भने पड्काइदिन्छ । अफगानीस्तानमा रूसको विरोध गर्ने कुन पार्टी थियो ? रूसले हमला गरेपछि राजनीतिक पार्टीको हालत के थियो त्यहाँ ? बीसौं टुक्रामा बाँडिएका त्यहाँका कविलाहरू वारलर्ड (युद्धसरदार) थिए । उनीहरूले रूसको कसरी प्रतिकार गरे ? कहीँ बुढालाई अघि लाए । कहीँ मास्टरलाई अगाडि लगाएर रूसको प्रतिरोध गरे । परिस्थिति आएपछि जनताले कसैलाई न कसैलाई अघि लाइहाल्छ नि । तीस वर्षदेखि इमान्दारीपूर्वक लुगा सिएर बसेको व्यक्तिलाई काठमाडौंका पचास हजार मान्छेले गएर तपाईं नै हो नेता भनेर अघि लाए भने के हुन्छ भन्नुस् त ? यी नेताबाट काम भएन भन्नेमा जनता पुगेपछि यसरी आउन सक्छन् । अहिले के लाग्या छ भने चीज बिग्रेको छ तर पूरै खत्तम भइसकेको छैन । जब सबै बिग्रेको भन्ने लाग्छ, जनताले कुनै कुनाबाट लुगा सिउने मान्छेलाई अघि सार्लान् । कहीँबाट पच्चिसौँ वर्षदेखि चौकीदारी गरेका व्यक्तिलाई लौ तपाईं नै नेता हो भनेर अघि लाउलान् । 
दोस्रो जनआन्दोलनपछिको सात वर्षसम्म संविधान बन्न सकेन । संक्रमणकाल लम्बिँदो छ । एउटा राष्ट्रको जीवनमा यस्तै हुन्छ कि हामीले व्यवस्थापन गर्न नसकेका हौँ ?
सामन्ती युगबाट प्रजातन्त्रको युगमा प्रवेश गर्नु जटिल प्रक्रिया हो । युरोपमा कति ठूलो बलिदान गर्नुप¥यो । हामीले कम क्षतिमा संक्रमणकालको व्यवस्थापन गर्नुपथ्र्यो । राम कार्कीको जीवनमा, तपाईंहरूको जीवनमा त संक्रमणकाल लामो भयो । नेपाल राष्ट्रको जीवनका लागि यो संक्रमणकाल लामो अवधि होइन । तर जहिले पनि आफूले भोगेकै बेलाको जाडो धेरै हुन्छ । अहिले हामी खपिरहेका छौँ । यो बोझिलो र अत्यासलाग्दो देखिएको छ । तर अहिले नै आत्तिइहाल्नुपर्ने, निराश हुनुपर्ने जरुरी छैन । खबरदारी गरिरहनुपर्छ । सबैको एउटा युग हुन्छ । अश्वमेघ यज्ञ सकेपछि अर्जुनको गान्डिभले पनि काम गर्न सकेन । किनभने त्यसको युग सकिइसकेको थियो । यहाँ कतिपय नेताको युग सकिइसकेको छ । अब ल्याकत र क्षमता नेतालाई स्थापित गर्नुपर्छ । 
कुनै पनि नेता तहगत चरण पार गरेरै नेतृत्वमा पुग्ने होइन र ? 
 सबै कुरा तजबिजले चल्ने हो । तर तपाईं सिंहदरबारमा जानुस् त बरियता मिचियो भनेर सचिवहरू रोइराख्या छन् । पार्टीहरूको हालत त्यस्तै छ । एमाओवादीका बारेमा मलाई भन्न अप्ठरो छ । कांग्रेसमा हेरौँ । भीमबहादुर तामाङको मृत्युपछि कति नेताहरू पत्रिकामा रोए । मरेपछि रुनेहरूले कम्तीमा जीवित छँदा भीमबहादुरलाई सघाइदिएको भए असल मान्छेलाई प्रोत्साहन हुन्थ्यो नि । त्यो भएन । कांग्रेसका मान्छे हाम्रो नेतृत्व निकम्मा भयो भनेर कुदिराख्या छन् । उचित समयमा उचित जिम्मेवारी दिएको भए नेतृत्वको विकास हुन्थ्यो । धेरै नेताहरू जिम्लिएर गए । पानी जिम्लिन थाल्यो भने उम्लिँदैन । राजनीतिक पार्टीहरूमा जिम्लिएका मान्छे खोज्नुभो भने सयौँ भेटिन्छन् । 
फरक प्रसंग, एकपटक बाबुराम भट्टराईजीले भन्नुभयो कि राष्ट्रपति कांग्रेसका नेता हुन् । राष्ट्रपति निर्वाचित भइसकेयता विभिन्न प्रक्रियामा उहाँको भूमिकालाई कसरी मूल्यांकन गर्नुभएको छ ? 
हाम्रो पार्टीमा यसबारे संस्थागत छलफल भएको छैन । राष्ट्रपतिको राजनीतिक जीवन हाम्रो पार्टीबाट सुरु भएको होइन भन्ने सबैलाई थाहा भएकै कुरा हो । तर उहाँले बाहिर सालिन भूमिका निर्वाह गरेको हामी पाउँछौँ । कतिपय ठाउँमा सबै पार्टीलाई चित्त बुझाउन सक्ने कुरा पनि हुँदैन । कहिलेकाहीँ दिएको वचनमा पनि उहाँ अडिन सक्नुभएन भन्ने कुराहरू पनि हामीले सुन्यौँ । अहिले उहाँ बिरामी भएर जानुभएको हुनाले उहाँका बारेमा केही नगरौँ । दुईचार दिन राम्रो सम्बन्ध हुँदा तारिफको पुल बाँधिहाल्ने, एउटा घटनामा आपूmले भनेजस्तो भएन भने गाली गरिरहने संस्कारबाट माथि उठ्नुपर्छ । 
अब विदेश मामिलाबारे कुरा गरौं । तपाईंले अगुवाइ गरेको एमाओवादीको विदेश विभाग के गर्दैछ अहिले ? 
विदेश विभागबाट हामीले विभिन्न देशका राजनीतिक पार्टीहरूसँग सम्बन्ध विस्तार गरिरहेका छौँ । नेपाललाई सबैभन्दा बढी प्रभाव पार्ने हिसाबले भारतका धेरै राजनीतिक दलहरूसँग हाम्रो संस्थागत सम्बन्ध हुनुपर्छ । त्यस्तो सम्बन्धले हाम्रोजस्तो सानो देशलाई ठूलो सकारात्मक असर पार्छ । ठूलो देशसँग हामी जे कुरा भन्न डराइरहेका छौँ, त्यही कुरा भारतीय नेताहरूले सजिलै भनिदिन्छन् । त्यसकारण हामी सम्बन्ध संस्थागत गर्ने प्रक्रियामा छौँ । 
हामीले छिमेकीसँग कहिले लड्दै कहिले सम्झौता गर्दै देशलाई बचाएर ल्याएको इतिहास बोकेका छौँ । हामी चीन र भारत दुवैसँग पटकपटक लडेका छौँ । उनीहरूको साइज ठूलो छ, सेना धेरै छन् भनेर हामीले हात उठाएर आत्मसमर्पण गरेका छैनौँ । छिमेकी भएको हुनाले हामीले डिल गर्नैपर्छ । हामीलाई भारत चीनको बडा जरुरी छ । उनीहरूलाई पनि हाम्रो जरुरी छ । उनीहरूको जरुरत हामी हौँ भन्ने कुरा बिर्सेर हामीले उनीहरूलाई फुल्याउन थाल्यौँ भने के हुन्छ ? अहिले त्यो भइरहेको छ । हामी युरोपका करिब १५ वटा पार्टीहरूसँग निरन्तर सम्पर्कमा छौँ । चिनियाँ कम्युनिस्ट पार्टीहरूसँग निरन्तर सम्पर्कमा छौँ । 
हामीले राजनीतिक कुटनीतिसँगै आर्थिक कुटनीति अघि बढाउनुपर्छ भनेर जानकार व्यक्तिहरूसँग निरन्तर छलफल गरिरहेका छौँ । अहिले तपाईंको देशले कुन राजनीतिक प्रणाली अँगालेको छ भन्नेभन्दा पनि तपाईंको देशमा म के बेच्नसक्छु भन्ने कुराको आधारमा सम्बन्ध अगाडि बढ्न थालेका छन् । त्यसकारण आर्थिक कुटनीतिका बारेमा हामीले छलफल चलाउनु जरुरी भइसकेको छ । यसैगरी, वैदेशिक रोजगारीमा गएका नेपाली मजदुरहरूको हितलाई कसरी मद्दत पु¥याउन सक्छौँ भनेर कन्सेप्ट बनाउन लागेका छौँ । हाम्रो राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ स्पष्टरूपमा पहिचान गर्नुप¥यो भनेर छलफल गरिरहेका छौँ । परराष्ट्र मन्त्रालयले यसबारे छलफल चलाएको थियो, फेरि पनि केही दिनमा छलफल हुँदैछ । कसैसँग सम्झौता गर्न नसकिने नेपालको साझा राष्ट्रिय स्वार्थ तय गरौँ भन्नेमा पुगेका छौँ । 
विदेश विभागलाई पार्टीको शीर्ष नेतृत्वले मतलब नगरेजस्तो देखिन्छ नि किन ? 
अहिले प्रमुख नेताहरूले विदेश विभागलाई जानकारी दिने गर्नुभएको छ । पहिला कतिजना हाम्रा नेता विदेश पुग्या छन्, कसले बोलाएर किन गएका हुन् थाहै हुँदैनथ्यो । अहिले त्यस्तो छैन । हाम्रो पार्टी अध्यक्ष प्रचण्ड भारत जाँदा मलाई पनि जाऔँ भन्नुभएको थियो । म अस्ट्रेलिया जानुपरेको हुनाले गइन । निकट भविष्यमा हामी जापान जाँदैछौँ । बाबुरामजी कतार, अस्ट्रेलिया भ्रमण गर्नुभो । उहाँले पनि भन्नुभएको थियो । 

नेपाली राजनीतिमा विदेशी हस्तक्षेपको कुरा आइरहन्छ । पछिल्लो सरकार निर्माण, निर्वाचन घोषणाासमेतका कुराहरूमा विदेशी हस्तक्षेप छ भन्ने गरिएको छ । अहिले हामी साँच्चै हस्तक्षेप वा दबाबमै छौँ ? 
वायुमण्डलमा हावा कहिल्यै खाली रहँदैन । तातो हावा वाफ बनेर उडेपछि खाली ठाउँमा अर्को हावा तुरुन्तै भरिन्छ । हामीले स्पेस दिएपछि अरूहरूले त्यो स्पेस लिन्छन् । हामीले उत्तेजित भएर भारतलाई चुनौती दिने, हामी लड्छौँ या गर्छौँ त्या गर्छौँ, हाम्रा बलभद्र भन्ने पनि ठीक कुरा होइन । भारत हामीभन्दा धेरै बलियो छ भनेर लम्पसार पर्ने कुरा पनि होइन । भारतसँग लड्नु हुँदैन भन्नुको अर्थ भारतको अगाडि सास फेर्नै हुँदैन भन्ने होइन । भारतले हित भन्ने गरेका कुरा कति जायज÷नाजायज छन् भन्न सक्नुपर्छ । हामीले त नाजायज हितका के कुरा गर्न सकौँला र भारतसँग, तर आफ्ना कुरा राख्नुपर्छ । अफगानिस्तान वा बाल्कनमा ब्याटलफिल्ड खोल्नेजस्तो बेकुबी अहिले चीन र भारतले नेपालमा गर्दैनन् । किनभने नेपाल अशान्त भयो र दीर्घकालीन युद्धमा फस्यो भने भारत र चीनले गरिरहेको उन्नतिमा नै गम्भीर नकारात्मक असर गर्छ । 
छिमेकीहरूको स्वाभाविक चासो देख्नुहुन्छ कि आफ्नो पक्षमा पार्न दबाब पनि ? 
भारत र चीनको विदेश नीति सन्तुलित र आदर्श खालको छैन । । तर ठूला देशसँग कुराकानी गर्दा नेताको व्यक्तित्वले पनि ठूलो काम गर्दोरहेछ । साना देशका ठूला साइजका नेताले विश्व राजनीतिमा ठूलो भूमिका निर्वाह गरेका छन् । नासेर कुनै ठूलो देशका दिएनन्, त्यो बेला भारत कुनै ठूलो देश थिएन । तर नासेर, नेहरूले असंलग्न आन्दोलनमा ठूलो भूमिका निर्वाह गरे । साना देशमा जन्मेर पनि विश्व राजनीतिमा ठूलो प्रभाव पार्न सके ठूला साइजका नेताले । अहिले हामी कति दबाब झेलिरहेका छौँ, सन् १९६० मा प्रधानमन्त्री हुँदा बीपी कोइरालाले कति दबाबको सामना गर्नुप¥यो होला ?                             यत्रो जागरणसहित गणतन्त्र आएको नेपालमा त हामी विदेशी दबाबको कुरा गरिरहेका छौँ भने त्यतिबेला कस्तो थियो होला ? हामीले पनि आफ्ना कुरा भन्न सकिरहेका छैनौँ, उनीहरू (भारत) को पनि औपनिवेशिक नीतिको तुष अझै बाँकी रहेको हुनाले असहजता भइरहेको छ । 
नेपालमा पछिल्लोपटक चीनको चासो बढ्दै गएको हो ? 
नेपालमा चीन अलिक बढी इन्गेज हुन चाहेको छ । आर्थिक र सैनिक शक्ति बढेपछि उसले भूमिका बढाउनु स्वाभाविकै हो । नेपालसँग मात्र होइन, भारतसँग पनि चीन इन्गेज भइराख्या छ । चीन र भारतलाई हिजो एक अर्काका प्रतिस्पर्धीका रूपमा हेरिन्थ्यो । अहिले चीन अमेरिकासँग प्रतिस्पर्धा गर्ने ठाउँतिर उक्लिँदैछ भनिन्छ । अमेरिकाले अलिक बढाइचढाइ गरेको देख्छु म । भारतले परम्परागतरूपमा नेपालका बारेमा बढी चासो राख्ने गथ्र्यो । तर औषधीको धेरै डोज दिइयो भने त्यसले शरीरलाई नकारात्मक असर पार्छ । म चाहिँ विदेशी सद्भावना आवश्यकताभन्दा बढी नहोस् भन्ने चाहन्छु । नेपाललाई पैसा के कति चाहिन्छ, के के मेसिन चाहिन्छ दिन्छौँ, आन्तरिक कुराहरू आफैँ मिलाउनुस् भनेर एक डेढवर्ष छिमेकीहरू चुपचाप बसिदिने हो भने नेपालीहरूले संविधान पनि बनाउँछन् । देश अगाडि पनि जान्छ । 
(हिमालय टाइम्स नेपाली दैनिकमा शुक्रवार प्रकाशित अन्तर्वार्ता । हिमालय टाइम्सका सम्पादक गोविन्द लुइँटेल र समाचार संयोजक पर्शुराम काफ्लेले यो अन्तर्वार्ता लिएका हुन् ।) 

No comments: